मंगलवार ५, आश्विन २०७८ Tue,21 Sep 2021

सर्वाधिकार सुरक्षित

साहित्यकार एकु घिमिरे र “एउटा बाटो गाउँसम्म”



10:44 शुक्रबार १८ , असार २०७८

बिन्दु दहाल मूकदर्शक/दमक

१: सामान्य परिचय ः नेपाली साहित्याकाशका एउटा भरोसा योग्य मिहिनेती कर्मठ युवा साहित्यकारको नाम हो एकु घिमिरे । प्रकृतिमा विचरण गर्न औधी रमाउने ,सधैँ हाँसिरहने स्वच्छन्दभावधारामा सिर्जनाका बियाड राखी सुकोमल र मगमगाउने थुँगा झुलाउने,बहिर्मुखी प्रवृत्तिका धनी छन् एकु घिमिरे । एकु घिमिरेको जन्म वि स २०३६ भाद्र २७ मा माता श्री मोहनकुमारी घिमिरे तथा पिता स्व.वेदप्रसाद घिमिरको कोखबाट इलामको श्री सूर्योदय गाउँपालिका वडा नं ४ श्रीअन्तुमा भएको हो तर हाल उनको बसाइ धरान १४ मा रहेको छ ।माध्यमिक तहको शिक्षा इलाम जिल्लाको श्रीअन्तुको जनक मा वि मा अध्ययन गरी प्रवेशिकासम्मको शिक्षा पूरा गरेका घिमिरेले उच्च शिक्षाका लागि धरानको हात्तीसार क्याम्पसलाई छनौट गरी विज्ञान सङ्कायमा आफूलाई होमे पनि अन्ततोगत्वा उनले नेपाली विषयमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेका छन् ।
२ : साहित्यमा प्रवेश ः एकु घिमिरे एउटा गतिशील नाम हो। पूर्वी पहाडको सुन्दर प्राकृतिक दृश्यले उनलाई बाल्यकालदेखि नै मोहनी लगाउँदै लग्यो । तरेली परेका मनोहर प्राकृतिक दृश्य र हरियाली , छङ्छङ गरी बग्ने खोलानाला ,श्रीअन्तुका उकाली र ओराली ,देउराली र भन्ज्याङ ,चौतारीका वरपिपल , चराचुरुङ्गीहरूको कलरव सुन्दै हेर्दै बारीकान्ला र नाघीहरूमा उफ्रिँदै हुर्किएका घिमिरेको पहिलो साहित्यिक गुरु नै प्रकृति भन्दा अन्यथा हुँदैन । उनी मूलतः प्रकृतिबाटै प्रेरित एवम् प्रभावित हुन् र छन् भन्ने कुरा उनको एउटा बाटो गाउँसम्मले पनि पुष्टि गर्दछ । यसपछि आफ्नै मातापिता र मातापितालेअध्ययन गरेका धर्मशास्त्रका पुस्तक , विद्यालयका गुरुहरू र आफूले कक्षागत रूपमा पढ्नुपर्ने नेपाली विषयका पुस्तकहरूले नै उनलाई साहित्यमा लाग्न प्रेरणा र हौसला दिएको कुरा आन्तरिक भलाकुसारीबाट प्रष्ट भएको छ । बाल्यकाल तथा स्कुले जीवनदेखि नैआफूलाई गाउँघर ,समाज र विद्यालयका अतिरिक्त गतिविधिमा सक्रिय गराउने घिमिरेको औपचारिक साहित्यिक यात्रा भने २०५२ सालदेखि प्रारम्भ भएको देखिन्छ। उनले मूलतः झापाको शान्तिनगर ८ (हालको बुद्धशान्ति ६ ) को श्री शान्तिआदर्श माविको वार्षिक मुखपत्र आँखोमा  बिहानीलाई स्वागत शीर्षकको कविता छपाएर औपचारिक रूपमा साहित्यलेखनमा हाम्फालेका हुन् । यसपछि भने उनले हात्तीसार क्याम्पस धरानमा अध्ययन गर्दा त्यहाँको साहित्यिक गतिविधिमा आफूलाई समावेश गर्दै लगे । यसैक्रममा उनले रेडियोमा संलग्न भई कार्यक्रम उत्पादन र प्रसारण गर्नुपर्ने अवस्था आइलागेपछिभने उनलाई साहित्य सिर्जनामा जुझारुरूपले लाग्नै पर्ने रहेछ भन्ने लाग्यो र अझ सक्रियतापूर्वक साहित्यसेवामा लागे ।
३. प्रकाशित कृतिहरू ः साहित्यकार एकु घिमिरे बहुआयामिक व्यक्तित्वका धनी छन् । उनको कलम साहित्यका विविध विधाहरूमा सक्रिय भएर चलेको देखिन्छ । साहित्यकार घिमिरेका अहिलेसम्म नौमतीको नौलो सरगम ( गजल सङ्ग्रह ) एउटा बाटो गाउँसम्म ( गद्य कविता सङ्ग्रह ) यति उपन्यास गरी जम्मा तीनवटा कृतिहरू निस्किएका छन् । यसका अतिरिक्त घिमिरेका मधुपर्क ,गरिमा लगायतका विभिन्न पत्रपत्रिकाहरूमा लेखरचनाहरू प्रशस्त मात्रामा प्रकाशित भएका छन् । साहित्यकार घिमिरे निबन्ध र नियात्रा लेखनमा सिपालु स्रष्टा हुन् भन्ने कुरा उनका फुटकर
प्रकाशित सिर्जनाहरूले पुष्टि गर्छन् । उनी बाजाहरू बजाउन , नाँच्न ,रमाइलो गर्न ,लोकभाकामा गुनगुनाउन पनि उत्तिकै सिपालु छन् ।


४ : पेसा संलग्नता ः जीवन जिउने मुख्य आधार भनेकै पेसासंलग्नता हो । पेसाहीन मानिस बेरोजगार कहलिन्छ र उसले जीवनमा अनेकौँ अफ्ठ्याराहरूको सामना गर्नुपर्ने हुन्छ । त्यसो त पेसा भएका र लिएकाहरूले असजिलाहरूको सामना गर्नु पर्दैन भन्ने पनि मेरो आसय होइन । पेसा र जीवनका आरोह अवरोहको कुरा गर्नु पर्दा साहित्यकार घिमिरेले बाँच्नका लागि अनेकौं पेसा लिएर संघर्ष गरेको देखिन्छ । उनको बुझाइमा जीवनको पर्याय सङ्घर्ष हो त्यसैले उनले एक दसक समय रेडियोमा कार्यक्रम उत्पादक र प्रसारकको जागिर खाए ,त्यसपछि श्री अन्तु इलामको भाग्योदय बोर्डिङ स्कुल ,धरानको पिण्डेश्वर संस्कृत विद्यालयमा र काठमाडौंका विभिन्न बोर्डिङ स्कुलहरूमा गणित र विज्ञान शिक्षक भएर काम गरे । ट्युसन पढाएरै धरानजस्तो महँगो सहरमा घरभिट्टा जोडेका छन् साहित्यकार एकुले । एकु परिश्रमका पुजारी हुन् । नङ्ग्रा घोट्नु पर्छ ,ठेला उठाउनु पर्छ र पसिनाले बाँच्नुपर्छ भन्ने उनका मूल मन्त्र हुन् त्यसैले जागिरको सवालमा यिनले घरघरमा गएर कुकुरहरूलाई रेबिज विरुद्धको सुइ लगाउने काम पनि गरे । यसरी विभिन्न पेसामा आफूलाई संलग्न गराउँदा गराउँदै अहिलेको अवस्थामा यिनी सङ्खुवासभा जिल्लामा। वि स २०७० साल जेठ २० गतेदेखिभने एकु नेपाल टेलिकमको प्राविधिक भएर काम गरिरहेका छन् । जीवन धानीरहेकाछन् । उनका जीवनका अनेकौँ उकाली ओरालीहरूमा उनकी जीवन सङ्गीनी सुमित्रा ओस्ती र छोरा सुयोगले साथ दिई रहेका छन् । समस्या र अभावहरूलाई मिलिजुली लखेटिरहेका छन् ।
एउटा बाटो गाउँसम्म
५ : विषय प्रवेश ः
क) पुस्तकको वाह्य मूल्याङ्कन ः वास्तवमा कुनै पनि पेसा व्यवसाय आदि क्षेत्रमा सफल मानिस बन्नका लागि भित्री ज्ञानसँगसँगै वाह्य आकर्षक शारिक व्यक्तित्व पनि उत्तिकै आवश्यक पर्दछ । आफूभित्र रहेको अन्तर्निहित क्षमतालाई प्रदर्शन गर्न ,सम्प्रेषण गर्न मानिसको वाह्य व्यक्तित्वले पनि सहयोगी भूमिका निर्वाह गरिराखेको हुन्छ । यसैले कुनै पनि सन्तमहन्त, शिक्षक कर्मचारीहरूका लागि आकर्षक शारीरिक व्यक्तित्व जति आवश्यक हुन्छ त्यति नै कुनै पनि सिर्जनाकालागि आकर्षक कभर ,गुणस्तरीय मसी ,कागज र बाइन्डिङ् तथा मूल्य , प्रकाशक आदि पनि उत्तिकै जरुरत पर्छ । यी कुराहरूले झट्ट पाठकको ध्यान खिच्न सक्नुपर्छ र नै भावक त्यो पुस्तक किन्न लालायित हुन्छ । त्यसैले यहाँ सबैभन्दा पहिले एउटा बाटो गाउँसम्म कविता सङ्ग्रहको अति सटिक र एकमुष्टरूपमा वाह्य मूल्याङ्कन गर्ने जमर्को गरिएको छ ।
निजी जीवनका गहिरा अनुभुतिहरूबाट नै हरेक मानिसले आफ्नो यात्रा र गन्तव्यलाई निश्चित गर्ने गर्छ ।यस कुरामा पनि एकु अछुतो छैनन् । उनको प्रस्तुत एउटा बाटो गाउँसम्म कविता सङ्ग्रह पनि उनका जीवनका अविष्मरणीय अनुभूतिहरूको एउटा सुन्दर कृति हो। यो कृति जम्मा ५९ पेजमा विस्तारित रहेको सानो आकारमा छ। यसभित्र जम्मा ३१ वटा कविताहरू सङ्ग्रहित छन् । यी कविताहरू बढीमा दुई पेज र घटीमा पाँच हरफमै सकिएका पनि छ्न् ।अधिकांश कविताहरू एक पेजमै सिमित रहेका छोटा मिठा छ्न् । कविता सङ्ग्रहका बारेमा डा टङ्क न्यौपाने र मनु मन्जिलले भित्री पेजमा शुभकामना मनतव्य लेख्नुभएको छ । प्रिय साहित्यकार एकुका विषयमा साहित्यकार ज्योति जङ्गल ,सुरेश हाचेकाली र सुमित्रा ओस्तीले पनि सटिक विचारहरू अभिव्यक्त गर्नु भएको छ जसलाई कविले सङ्ग्रहको बाहिरपट्टिको पछिल्लो भागमा राखेका छन् । यो सङ्ग्रहको प्रकाशक स्कलर्स पब्लिकेसन रहेको छ भने आवरण साजसज्जा सन्जय सुवालले गरेका छ्न् । भाषा शुद्धि दिनेश पौडेलले हेर्नु भएको यो सङ्ग्रहको मूल्य कविले रु १२५ राखेका छन् जसलाई समय सान्दर्भिक मान्नुपर्छु । बाहिरी आवरणमा एउटा बाटो ,हिमाल र पहाडी नागी तथा रुखबोटबिरुवाको चित्राङ्कित यो पुस्तकको बाइन्डिङभने त्यति मजबुत देखिँदैन । घुर्मैलो रङको कागजमा कालो मसी प्रयोग गरिएको यो सङ्ग्रहमा कविताका लागि १४ फन्ड र शीर्षकका लागि १८ फन्डका अक्षरहरू प्रयोग गरिएको मेरो ठम्याइ रहेको छ ।गुणस्तरीय मसी र कागज प्रयोग गरिएको हुँदा पुस्तकको शोभा बढेको देखिन्छ।
ख) पुस्तकको आन्तरिक मूल्याङ्कन ः बाहिरी आवरण वा बोक्राले कुनै पनि फलको भित्रको सुन्दर , मिठो गुदी सुरक्षित गरे जस्तै कुनै पनि पुस्तकको बाहिरी जिल्लाले भित्री चुरो ,खुराक वा सारभूत कुरालाई सुरक्षित गरेको हुन्छ । भित्री कुरा , गुदी वा पुस्तक भित्रका रहस्यमय कुरा ,सूचना थाहा पाउन , जानकारी लिन हामीले पुस्तकको वाह्य आवरण हुँदै भित्र पस्नै पर्छ । एकु घिमिरेको एउटा बाटो गाउँसम्मको सङ्ग्रहको द्वारभित्र पस्दा सबैभन्दा पहिले वर्षात् को गाउँ रहेको छ ।यो कविता अत्यन्त सशक्त र सुन्दर अनि उत्तिकै मार्मिक पनि छ । यसमा कवि घिमिरेको हाम्रो धर्म संस्कृति परम्पराप्रतिको सम्मोहन अत्यन्तै सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ भने अर्कातिर वर्षाको समयमा गाउँले हिलाम्मे वातावरण , भ्यागुताको ट्यारट्यारको मौलिक सङ्गीतलाई सुनेर स्कुसले अचम्म मानेर जिब्रो निकालेको कुरालाई मानवीकरण गरी आकर्षक रूपमा प्रस्तुत गरिएको छ । आसार पन्ध्रमा नेपाली संस्कृतिअनुसार दहीच्यूरा खाने ,असारको २९ मा देशैभर र गाउँ कुनाकन्दरामासमेत रामायणका श्लोकहरू रेडियोबाट सुमधुर ढङ्गले गुन्जिने ,मानो खाएर मुरी उब्जाउने असारको रमाइलो वातावरण , मुखियाबाको मैजारोमा बेठीको रन्को ,अकबरे खुर्सानी ,मकैको भातमा लागेको माम्री सोल्लारसँग खाएको ,धान गोड्ने खेतालाहरूलाई तामाको मेसु ,मासको मसेप्रा खाजासँग बाँडेको कुराहरूलाई अत्यन्तै चित्ताकर्षक ढङ्गबाट प्रस्तुत गरिको छ । गरिब निमुखाहरूको जीवन बर्षात्को गाउँ जस्तै हिलाम्मे र कारुणिक भएको कुरा कविताको केन्द्रीय मर्म रहेको छ । घिमिरे प्रकृतिको कसरी मानवीकरण गर्छन् भन्ने कुरा तलका कविताले छर्लङ्ग प्रस्तुत गरेको छ ।
कवि घिमिरेको दोस्रो कविता एउटा अनुभूति मानिसको जिउने जिजीविसासँग सम्बन्धित छ । कवितामा दाउरा र टायरले उक्साएको भरमा नदीले विरोध सुसेल्दा सुसेल्दै हावाको सहयोग लिएर कसरी कोमल गुलाफका कोपिलालाई खरानी बनायौ भने आगोसँग आक्रोश पोखिएको छ । वास्तवमा मान्छेका जिउने अनगिन्ती लालसा हुँदाहुँदै पनि कवि लेखनाथ पौडेलले कालमहिमा कवितामा भन्नु भए झैँ निष्ठुरी कालले हाम्रो कल्कलाउँदो जीवनलाई क्षणभरमै चुडेर लान्छ र जिउनेलाई मर्माहत अवस्थामा पु¥याउँछ भन्दै संसारका सबै वस्तु क्षणिक रहेछन् भनी आफू एक्लै मसानघाटबाट फर्किएको कुरालाई अत्यन्तै मार्मिक रूपमा प्रस्तुत गरेका छन् ।
देशको विषम राजनीतिक परिवेशमाथि व्यङ्ग्य प्रहार गरिएको छ । कवि बुद्ध खोज्दा बाज पाएको अनुभूति गर्न विवश छन् । झरनाले मुर्दावादका नारा ओकलेको , चराहरूले नगाएर चिच्याएको , मौरीले घारमा मह होइन बिष भर्दै गरेको , फूलहरू फुल्न बिर्सिका , बादलले एसिड बर्साउने गरेको चर्चा गर्दै राजनीतिक तथा वातावरणीय विसङ्गतिप्रति पनि खेद प्रकट गर्दै सङ्गतिको खोजी गर्न पुग्छन् । घिमिरेको चौथो कविता बाबा र पाँचौं कविता पाकेको फर्सी रहेको छ । बाबा कवितामा उनका बाबा बितेको मार्मिक क्षणलाई सम्झना गर्दै बाबाको निधनपछि आमाका हातका चुरा फुटाइएको घटनाप्रति आक्रोश व्यक्त गर्दै मेरी आमाका हातहरूलाई शिशिरको रुख जस्तै उजाड बनाइयो ,आमाकै आँसु थापेर सिउँदोको रातो सिन्दुर पखालियो , कपास जस्तै सेता बनाएर घाटबाट फर्काइएको र आफूहरूलाई अछुत पारिएको कुराप्रति भद्र विद्रोहको स्वर सुसेलेका छन् र हाम्रा हिन्दु अवै ज्ञानिक धर्म परम्परा र संस्कारमाथी शाब्दिक सिस्नोका मुठा प्रहार गरेका छन् ।पाकेको फर्सी घिमिरेको एउटा शक्तिशाली कविता हो। यस कवितामा कविले फर्सी र नेतालाई एकाअर्कामा तुलना गर्दै फर्सी बाहिर हेर्दा राम्रो देखिन्छ तर भित्रभित्रै कामै नलाग्ने गरी कुहिए जस्तै नेपाली नेताहरू फर्सी जस्तै अधिकांश कुहिँदै गएको कुरा कोट्याई नेपाली राजनीतिमा इमानदारिता , नैतिकता र पारदर्शिता बत्ती बालेर खोज्नु पर्ने तीतो यथार्थलाई तीखो र चोटिलोरूपमा प्रस्तुत गर्दै राजनीतिमा इमानदारिताको खोजी गरेका छन् । घिमिरेको छौटौं कविता भविष्यवाणीमा बुहार्तनका विषयमा चर्चा गर्दै नेपाली बुहारीहरूले भोग्नु पर्ने पीडा मर्म र वेदनाका सुस्केराहरूलाई मार्मिकरूपमा चित्रण गरेका छन् र ज्योतिष शास्त्रले गर्ने भविष्यवाणी र जीवनबिच तालमेल नमिल्ने कुरा प्रति असन्तोष व्यक्त गरेका छन् ।उनको नित्सेको विरुद्धमा कवितामा नित्सेले भनेझैँ ईश्वर मरेको छैन र यो सम्पूर्ण ब्रह्माण्ड अदृश्य शक्तिद्वारा चलेको कुरामा यसरी विश्वास गर्छन् ।ू; म आफैँ हात उठाएर भन्छु , नित्से तिमीले ढाट्यौ,पलपल नियन्त्रण गर्ने एउटा शक्ति पक्कै छ ।( पेज २५) गुनासो एउटी चेलीको शीर्षकको कविता घिमिरेको आठौं कविता हो । कवि घिमिरेले यस कवितामा एउटी विवाहित चेलीले वरमालासँगै माइतीसँगको रगतको नाता टुटेको र आफ्नो छातीमा संस्कृतिका घोचा रोपिएको , माइतीद्वारा आफू भकुण्डो झैँ लत्याइएको कुराको दर्दनाक चित्र गरिएको छ । यस कवितामा हाम्रो संस्कारले नारीलाई अन्याय गरेको ,उनीहरूलाई वस्तु जस्तो अर्काको घरमा पठाइएको र अन्यायको शिकार बनाइएको कुराप्रति गहिरो घात व्यक्त गरिएको छ । कवि घिमिरेको सम्मानित कवितामा हिजो आज लिङ्क ,साइनो सम्बन्ध र पार्टी मिल्नेलाई ,गुलामी चाकरी गर्नेलाई मात्र सम्मान गर्ने साहित्य क्षेत्रमा मौलाएको विकृतिमाथि व्यङ्ग्य गरेको छ र त्यस्तो सम्मान थाप्नुभन्दा नथाप्नु नै बेस सम्झी बरु त्यो भन्दा त गाउँ जाँदा गाउँले काका ,बडबाले सेतो पिठो भएको हातले शिर मुसारिँदिदा ,बेसार पिँस्दै गरेकी बजुले तोँ कान्जाको छोरो होइनस् भनी कपाल मुसार्दै सोधेकोमा , छोरीले श्रीखण्ड दलिदिएको , श्रीमती जुठो लोटाउँदै जिस्किएकी ,हिलाम्मे खुट्टाले भतिज बुइ चडेको, आफू गाउँ जाँदा सल्लाहरूले सुसेलेर ,अम्लिसो र अलैंचीका बोट नाचेर स्वागत गरेकामा आफूलाई बढ्ता आनन्द आएको कुरा महसुस गर्छन् र यस्ता मगन्ते सम्मानको उछित्तो काढ्छन् । कविले वर्षात् मा गाउँ कवितामा पहाडी भेगका ग्रामीण किसानहरूले वर्षाको समयमा सर्प जुकाको पीडा ,चियाका मुना र फ्याक्ट्रीहरू ओइलाएको कुरा ,भ्यागुताका टर्रा गीत र अलैंचीका फेदमा फलेको आसालाई एकसाथ अत्यन्त मार्मिक ढङ्गबाट चित्र गरेका छ्न् र ग्रामीण जनताका नुनिला आँसुका दर्दहरूको चर्चा गरेका छन् । प्रेम कवितामा कविले आफू र प्रेमिकाविचको संवाद सुरुमा विपर्यास रहे पनि अन्त्यमा प्रेमिकाले मुस्कुराउँदै प्रेमप्रस्ताव स्वीकारेको शृङ्गारिक वर्णन गरेका छ्न् । युद्धमा गाउँ कविता साहित्यकार घिमिरेको अर्को अत्यन्तै शक्तिशाली र मार्मिक एवम् सामाजिक धरातलमा उभिएको यथार्थ कविता हो जहाँ दस बर्से माओवादी द्वन्द्वकालको चित्रण गरेको आभास पाठकले गर्छन् । यो कवितामा प्रकृतिको पनि कविले मनोहरका साथै सन्त्रामय वातावरणको चित्रण गरेका छ्न् । कविले यस कवितामा एउटा विसङ्गत क्षणको चित्रण यसरी गरेका छ्न् हजुरले बुद्धलाई अर्पण गरेको खदा ओछ्यएर ,पल्लाघरे पण्डितको बाछी काटिन्थ्यो ,झुप्राको भित्तो भत्काएर सेकुवा सेकाइन्थ्यो। रक्ताम्मे खदामा बाछीको बोसाले लेखेर बनाइन्थ्यो झण्डा । ( पेज ३१) एकुको अर्को कविता मातृभूमि हो जहाँ देशका चाँप ,चिमाल , च्छो रोल्पा ,कोशी ,गण्डकी ,कर्णालीको मुक्तकण्ठले प्रशंसा गर्दै राष्ट्र महिमा गान गाएका छन् । साहित्यकार घिमिरेको चौधौं कविता श्रद्धाञ्जली रहेको छ जहाँ योद्धा को हो र कसलाई श्रद्धाञ्जली दिइएको हो प्रष्ट नभए पनि
देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने वीर योद्धाप्रति हार्दिक श्रद्धाञ्जली यसरी अर्पण गरिएको छ ।अब छैनौ तिमी ,छैन त्यो आगो र उज्यालो ,बाँकी छ तिमी जल्दै गर्दा आँसुले लेखेको यो कविता ,तिमीलाई हाम्रो श्रद्धाञ्जली ।अत्यन्त भावुक भएर लेखिएको यो कवितापछि कविको अर्को मातृभूमि कविता रहेको छ जहाँ शरणार्थी जीवनको कहालीलाग्दो क्षणको स्मरण गर्दै ग्रामीण व्यक्तिबोलीमा मार्मिक व्यन्जनात्मक अभिव्यक्ति प्रकट गरेका छन् । कवि घिमिरेको अर्को सशक्त कविता कुमारी अस्तित्व हो जहाँ शासकहरूको अकर्मण्यताका कारण अपराधीहरूले खासै सजाय पाउन नसकेका कारण कुमारी छोरीचेलीहरूलाई आफ्नो अस्तित्व जोगाउन मुश्किल भएको कुरा विभिन्न बिम्ब र प्रतीकद्वारा प्रष्ट पारेका छ्न् । उनका यस कृतिभित्र जम्काभेटे ,गाउँको हिउँद हिउँदको गाउँ ,गणतन्त्र रहेका छन् र गणतन्त्र कवितामा गणतन्त्र आउँदा न ताली बज्यो न विरोध न समर्थन भन्दै गणतन्त्रलाई चुरोटसँग तुलना गरिएको छ । कवि घिमिरेका ऐना , शिक्षक ,वसन्तमा गाउँ ,झारपात कवि ,कविता लेखिरहँदा , प्रणय उत्सव ,असफल कविता डाँडा बजार , शरद् मा गाउँ ,होर्डिङ बोर्ड ,नीलकाँढा ,लोपोन्मुख शब्दका कविता भाग १ देखि ४ सम्म रहेका छन् । कवि घिमिरेको एउटा बाटो गाउँसम्म कवितालाई समग्ररूपमा हेर्दा उनी नेपालको पूर्वी पहाडी ग्रामीण जीवनका सुखदुःखका आरोहअवरोह ,घामछायालाई प्रस्तुत गर्ने एक कुशल कवि देखिन्छन् । उनले आफ्ना कवितामा कतै राष्ट्र भक्ति र देशप्रेमको शङ्खघोष गरेका छन् भने विकृत राजनीति र मपाइँत्ववादी गुलामी साहित्यको धज्जी उडाएका छन्  । एकु कतै समाजमा भएका विकृती र विसङ्गति बढार्न कुचो खरेटो बोकेर निस्किन्छन् भने कतै सिर्जनाका उद्यान निर्माण गर्न कलम र कुची लिएर निस्किन्छन् । ग्रामीण जनतासँगको यिनको प्यार र सम्बन्ध नाता नङ र मासुको जस्तै देखिन्छ । आफ्नो भाषा र संस्कृति प्रति यिनको अनुराग अचम्मको छ । कवि कहिले नेपालको राजनीतिलाई सिस्नो पानी हान्न कम्मर कस्छन् भने हिमाल,पहाडका कुना कन्दरा खोँचमा भौतारिदै पुग्छन् । प्राकृतिक वातावरणको संरक्षण र संवर्धनमा समेत साहित्यकार घिमिरेको कलम सक्रिय देखिन्छ ।लोपोन्मुख शब्दहरूमा प्राणभर्न उनी अक्सिजनका सिलिन्डर लिएर गाउँबेसी र कुनाकन्दारा दौडिन्छन् । स्रष्टा घिमिरेका कवितामा डा टङ्क न्यौपानेले भन्नु भए झैँ लयात्मक भाषाको जादुमय अभिव्यक्ति , दार्शनिकताभित्र राष्ट्रप्रतिको चिन्ता पाइन्छ ।उनका कवितामा सुरेश हाचेकालीले भनेझैँ पहाराको फेदमा आफैँ उमृएको जरुवाको जस्तो मिठो स्वाद छ अनि ज्योतिजङ्गलले भनेझैँ हृदयको पानाबाट उमृएको गाउँको माया छ । अनि सुमित्रा ओस्तीले भन्नुभएझैँ उनका कविताले नारीहरूलाई सम्मान गर्छन् ।टनटन टन्किएको पिलो फुटाएपछि मानिसलाई जति आनन्द लाग्छ साहित्यकार घिमिरे पनि एउटा सुन्दर कविता लेखिसकेपछि त्यति नै आनन्द मान्छ्न् ।
६ : साहित्यकार घिमिरेका कवितामा प्रकृति चित्रण र मानवीकरण ः सुन्दर साहित्य सिर्जना गर्नमा प्रकृतिको कुशल ढङ्गबाट उपयोग गर्नु हरेक साहित्यकारको आआफ्नै खुबी हो ।यस कोणबाट साहित्यकार घिमिरेका कवितालाई हेर्दा कवि घिमिरे आफ्ना कवितामा प्रकृतिको चित्रण गर्न सिद्धहस्त साहित्यकार हुन् । उनी आफ्ना आक्रोशलाई पोख्नका लागि प्रकृतिकै सहारा लिन्छ्न् त्यसैले उनी प्रकृतिको कहिले रौद्ररूपको चित्रण गर्छन् भने कहिले आफूमा भएको भद्रता र सालिनतालाई दर्शाउन प्रकृतिको शान्त सौम्यरूपको पनि अत्यन्त मनोहर ढङ्गबाट चित्रण गर्छन् । साहित्यकार घिमिरे प्रकृतिको भयानक रूपलाई यसरी प्रस्तुत गर्छन् ः रातभरि हुरीले मकै सोत्तर पार्थ्यो ।( युद्धमा गाउँ पेज ३१) मौरीहरू चाकामा बिष भर्दैछ्न् ,जून जन्डिस फैलाउन व्यस्त छ ,डर लाग्छ हावा अश्रुग्यास लिएर आउँछ । ( त्रास कविता ः पेज २१) कवि घिमिरे आफ्नो मन खुसी भएको बेला प्रकृतिको कोमल चित्रण यसरी गर्छन् ।आकाश मोहित भएर चाप र चिमालको पूजा गर्छ ,कहिले हर्षका पटका पढ्काउँछ र फोटो खिच्छ झिलिक झिलिक । ( मातृभूमि ः पेज ३२ ) साहित्यकार घिमिरे आफ्ना कवितामा प्रकृतिलाई मान्छे जस्तै नचाउँछन् ,उफार्छन् र कुरा गराउँछन् । उनी प्रकृतिलाई बोलाउने, चलाउने र खेलाउने खेलाडी नै हुन् । उनी प्रकृतिको मानवीकरण गर्ने क्रममा प्रकृतिलाई यसरी सजीव उतार्छन् । ( भुँइकुहिराको सिरक ओड्छ अन्तु डाँडो ,तुम्लिङडाँडो सेतो कोट लगाएर कन्चनजङ्घा झैँ बन्छ ।( पेज ४१ ) यात्रीसँग कन्चनजङ्घा लुकामारी खेल्छ ,रुखहरूले नयाँ कपडा लगाउँछन् । ( वसन्तमा गाउँ पेज ४३)
७ : एकुका कवितामा शब्दचयन र वाक्य गठन र भाषाशैली :  कुनै पनि साहित्यलाई सुन्दर आकर्षक र पठनीय एवम् स्मरणीय शब्दचयन र वाक्य गठन र भाषा शैलीको पनि अति महत्त्वपूर्ण भूमिका हुन्छ ।कवितामा विषयवस्तु अनुसारका शब्द र वाक्य गठन र भाषा प्रयोग गर्न सकियो भने अत्यन्त राम्रो हुन्छ । साहित्यकार घिमिरेका कवितालाई यसकोणबाट हेर्दा
अत्यन्त सफल र उत्कृष्ट छ्न् । घिमिरे नेपाली जनजीवनमा घुलमिल भएका व्यक्तिबोलीका , लेकबेँसी तराईका गाउँले परिवेशका शब्द प्रयोग गरी आफ्ना सिर्जनामा प्राण भर्न सिपालु छन् । लोपोन्मुख शब्द प्रयोग गरेर उनी शब्दहरूलाई अमर बनाई राख्छ्न् । उनका कवितामा व्यक्तिबोलीका शब्द यसरी प्रयोग भएकाछन् ः नैरिक्ते = नागरिकता ः जन्मोदा ः जन्मँदा ः नाभोर = नभएर । साहित्यकार घिमिरेले आफ्ना कवितामा प्रयोग गरेका लोपोन्मुख केही शब्दहरू ः राँबो ,बसिला,गरिया,बँदिया ,पोरा आदि । ( पेज ५६ देखि ५८)घिमिरे देवकोटाले झैँ कतिपय शब्द आफैँ पनि निर्माण गर्छन् जस्तै कविताइन्छे । ( पेज ३७ कुमारी अस्तित्व ) साहित्यकार घिमिरे आफ्ना कवितामा प्राञ्जल भाषाको प्रयोग गरी व्यञ्जनात्मक अभिव्यक्ति दिन्छन् । उनका कमै मात्र कविता अभिधा शब्दशक्तिमा रहेका छन् । एकु गागरमे सागर अटाउन उत्तिकै सिपालु छन् । कविता भन्ने आफ्नै शैली छ । यिनी विशेश गरी समासात्मक शैली प्रयोग गरी आँ गर्दा अलङ्कार बुझिने छोटा मिठा ,चोटिला कविता लेख्न रुचाउँछन् । उनको पाँछ हरफ ,सात हरफका छोटा तर पूर्ण कविता पनि यो सङ्ग्रहमा छन् जस्तै प्रणय उत्सव कविता ( पेज ५०) यसको उदाहरण हो ।
८ : एकुका कवितामा बिम्बप्रतीक र अलङ्कार ः अलङ्कार भनेको आभूषण वा गहना हो ।जसरी वस्त्र या आभूषण ,गहनाले नारीको सौन्दर्यमा निखार ल्याउँछ त्यसरी नै साहित्य अलङ्कारको प्रयोगले साहित्यको गरिमा अभिवृद्धि गर्दछ । भन्न खोजेका कुराहरूलाई शक्तिशाली ,कर्णप्रिय , शब्द र अर्थमा चमत्कृत बनाउन पनि अलङ्कारको प्रयोग गरिन्छ । यो काव्यको आत्मा हो । बिम्ब र प्रतीक भनेको चाहिँ भन्न खोजिएको कुरालाई कुनै दृष्टान्त , सङ्केतद्वारा ,चिन्हद्वारा सशक्त खँदिलो र आकर्षक बनाउने कला हो । साहित्यकार घिमिरे आफ्ना कवितामा बिम्ब प्रतीक र अलङ्कारलाई यसरी प्रयोग गर्छन् । एउटा उपमा अलङ्कारको नमुना ः भुइँ कुहिराको हल्लिरहने सिरक, लाली गुराँसको सिन्दुर ,चुथ्रो फूलको गहना ,कट्टुस र उत्तिसको हरियो सारी चोलो ,बुकी फूलको पाउजु, भुइँ ऐसेँलुको नङ पालिस कल्की फूलको चुरा आज बेहुली जस्तै पवित्र डाँडा बजार ।( पेज ५२ डाँडा बजार )यसरी एकु कवितामा उपमा ,दृष्टान्त रूपक कयौं अलङ्कार र बिम्ब प्रतीकहरूको हरेक कवितामा सुन्दर प्रयोग गर्छन् ।
९ : एकुका कवितामा व्यङ्ग्य चेतना ः एकु नेपाली साहित्यिक धरातलका एक सफल साधक ,ऊर्जाशील व्यक्तित्व ,परिस्थिति अनुकूल सशक्त विद्रोहात्मक स्वर उराल्न सक्ने ,समाजिक राजनितिक धार्मिक आर्थिक क्षेत्रका विसङ्गतीलाई सिस्नो पानीले झ्यामझ्याम हान्न सक्ने साहित्यकार हुन् उनका कविता प्राय नै सोझो बाटो हिँड्न मन पराउँदैनन् त्यसैले यिनी बिम्ब र प्रतीकहरूको कुशल ढङ्गबाट प्रयोग गर्दै व्यङ्ग्यवाण प्रयोग गर्छन् र विसङ्गत क्षेत्रहरूलाई सुधार्ने प्रयत्न गर्दछन् । उनका कवितामा प्रखर व्यङ्ग्य चेतना यस्तो पाइन्छ । एउटा नमुना ःकन्भेक्स ऐना सानोलाई ठुलो पार्छन् ,ऐना फुटे प्रतिबिम्ब अनेक ,याद गर्नुहोस् ऐनाहरू सधैँ असत्य देखाउँछन् , हाम्रा नेता ऐना जस्तै लाग्छ्न् ।( पेज ४४ ऐना )
१०: एकुका कवितामा दृष्टिबिन्दु ः दृष्टिबिन्दु भन्नाले कुनै पनि कृतिमा समाख्याताले अगाडि बढाउने मुख्यतः स्थिति चरित्र परिवेशलाई बुझिन्छ । विशेष गरी यो सिर्जनालाई लेखकले अगाडि बढाउन प्रयोग गरिने नाम सर्वनाम हो भनेर बुझ्दा पनि हुन्छ । कथा ,नाटक ,उपन्यासमा मुख्य गरेर प्रथम र तृतीय पुरुषीय दृष्टिबिन्दु प्रयोग भए पनि काव्यमा भने प्रथम द्वितीय र तृतीय पुरुषीय दृष्टिबिन्दुलाई नै प्रयोग गर्न सकिन्छ ।कुन दृष्टिबिन्दु प्रयोग गर्ने भन्ने कुरा लेखकीय इच्छाको कुरा हो ।प्रस्तुत एउटा बाटो गाउँसम्म कवितामा कवि घिमिरेले तीनवटै दृष्टिबिन्दुको सफल प्रयोग गरेका छ्न् । प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग कवि यसरी गर्छन् ः म आज सम्मानित भएँ ,सबैको हृदयबाट ( सम्मानित म पेज २८) कविले द्वितीय पुरुषको प्रयोग कवितामा यसरी गरेका छन् ः तिमीले हामीलाई छोडेपछि रेडियो टेलिभिजनलाई हामीले छोडेनौं ,अब तिमी छैनौ , तिमीलाई हार्दिक श्रद्धाञ्जली । ( श्रद्धाञ्जली पेज नं ३४) एकुका सम्पूर्ण कविताहरूलाई हेर्दा प्रायः अधिकांश कवितामा प्रथम र तृतीय पुरुषकै प्रयोग भएको देखिन्छ ।
११ : शीर्षक सार्थकता ः कवि घिमिरेका सम्पूर्ण कविताहरू शीर्षककै केन्द्रीयतामा घुमेका हुँदा सबै कविताका शीर्षक सार्थक रहेका देखिन्छन् ।
१२ : एकुका कविताका सीमाहरू ः प्रस्तुत एउटा बाटो गाउँसम्म कविता सङ्ग्रहका सीमाहरूलाई खोतल्नु पर्दा कवि घिमिरेले कतिपय कविताका शीर्षकहरू उस्तैउस्तै राखेका छन् यो उनको कमजोर पक्ष हो । जस्तै वर्षात् मा गाउँ ,वर्षातको गाउँ , मातृभूमि ,मातृभूमि ?? यसरी नै श्रद्धाञ्जली कवितामा कसलाई श्रद्धाञ्जली दिइएको हो ? मदन भण्डारी जीवराज आश्रति या अन्य कसैलाई प्रष्ट छैन । कविताको अन्त्यमा पाठकको कौतुहलता साम्य पारेका भए राम्रै हुन्थ्यो । अन्य पक्ष सबै कविता सङ्ग्रहका अन्य सबै पक्ष उत्कृष्ट रहेका छन् ।
१३ : निष्कर्ष ः एकुको एउटा बाटो गाउँसम्म कविता सङ्ग्रह सानो खँदिलो तर आफैँमा परिपुष्ट सङ्ग्रह हो । भाषा शैली ,सन्देश उद्देश्य ,भाव ,वाक्यगठन ,बिम्बप्रतीक र अलङ्कार प्रयोग ,प्रयोग भएका पदसङ्गति आदिका कोणबाट हेर्दा सिर्जना अब्बल र पठनीय रहेको छ । यो सङ्ग्रह मरिच जस्तो तीखो पिरो र अमृत जस्तो मीठो रहेको छ । बाहिरि आवरण हेर्दा पुस्तक यस्तो होला भन्ने कुरा पाठकलाई नलाग्ला यो भिन्नै कुरा हो तर भित्र छिरेपछि रत्नको सागरमा डुबुल्की मारेजस्तो अनुभव हुन्छ । यस्तै उत्कृष्ट कृति फेरिफेरि पनि कविको करकलमबाट सिर्जना हुन सकून् भन्दै म कविको सुस्वास्थ्य र दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ।