मंगलवार ५, आश्विन २०७८ Tue,21 Sep 2021

सर्वाधिकार सुरक्षित

नफर्कने बाटामा तेराख



10:44 आईतवार २० , असार २०७८
  • पुण्यप्रसाद खरेल /बिर्तामोड

तेजराज खतिवडा (तेराख) शारीरिक रुपमा भव्य व्यक्तित्वको सेता ठिक्कका दारीसँग गोरो हँसिलो अनुहारको देख्तै पनि ऋषिमुनि जस्तै, कवि–दार्शनिक जस्तै लाग्ने, मिलनसार, कुलत र दुव्र्यसनले कहिल्यै छुन नपाएको एउटा सज्जन उपमेय व्यक्ति, झापाली प्रशिद्ध साहित्यकार तेराख असार १६ गते बित्नुभयो ।

उहाँका बारेमा उहाँकै पछिल्लो कृति कथा सङ्ग्रह ‘मेको प्रेम’को भूमिकामा प्रा.डा.गोविन्दराज भट्टराईले लेख्नुभएको छ – “पूर्वी नेपालका साहित्य स्रष्टामध्ये तेराख एक स्थापित र सिद्धहस्त कलाकार हुन् । उनको ‘सर्वजा’ जस्तो आख्यान, ‘टेस्ट–ट्यूब बेबी’ जस्तो नाटक एवम् अन्य निबन्ध र कविता सङ्ग्रह लगायत डेढ दर्जन सिर्जनाले उनको उर्वरताको प्रमाणित गर्दछन् । अझ उनमा रहेको कल्पनाशीलता र सिर्जनात्मक नवीनताले जीवनजगत्का विविध पक्षलाई कलात्मक शैलीमा प्रस्तुत गर्न उनी अत्यन्तै सफल छन् । अब त जीवन र जगत्का अनुभव पनि गहिरा र लामा भैसकेका छन् ।”

झन्डैझन्डै प्रा.डा. भट्टराईको उपर्युक्त भनाइले तेराखको साहित्यिक परिचयको झल्को दिन्छ पनि । झापामा रहेर साहित्यमा कलम चलाउनेहरुमा धेरै कृतिका सर्जकहरुमध्ये उहाँ पर्नुहुन्छ । चूडामणि रेग्मी, कृष्ण धराबासी आदि पछाडि उहाँकै नाम आउँछ । झापामा साहित्य लेखनको प्रारम्भ नै तेराखज्यूहरुको लेखनको प्रारम्भकाल हो भन्दा हुन्छ । त्यसअर्थमा झापाको नेपाली साहित्यको उमेरसँग तेराखज्यूको साहित्य सृजनाको उमेर मेल खान्छ । भवानी घिमिरे, डा. हृषीकेश उपाध्याय, राधिका राया, एसएल शर्मा, चूडामणि रेग्मीहरु उमेरले अलिक जेठा भए पनि साहित्यको चहलपहल झापामा लगभग २०को दशकबाट नै सुरुभयो । तेराखजीले साहित्यमा कलम चलाउन थाल्नुभएको पनि त्यही समय हो । यी कारणहरुले झापाली साहित्य र साहित्यकारको चर्चा–परिचर्चामा धेरै भाग तेराखज्यूले ओगट्नुहुन्छ ।

धेरै साहित्यकारहरु निश्चित विधामा मात्र कलम चलाउँछन् । नभए पनि सबै विधामा कलम चलाउनु लर्तरो कुरा होइन । तर तेराखज्यूको विशेषता भनेको साहित्यका सबै विधामा कलम चलाउनु पनि हो । सबै विधामा उहाँले कृतिहरु दिनुभएको छ । सुरु त उहाँले काव्यबाटै गर्नुभएको हो । उहाँको पहिलो प्रकाशित कृति ‘प्रिया’ (काव्य–२०२६) तथा ‘प्रिय शान्तिनगर (काव्य–२०२८) नै धेरै राम्रा कृति थिए । गुरु चूडामणि रेग्मी सदैव यी दुई कृतिको प्रशंसा गरिरहनु हुन्छ । काव्य लेख्ने व्यक्ति महाकाव्य लेख्ने क्षमता राख्छन् भन्ने मान्यता छ । ‘पश्चिमी हावा’ (२०३५), ‘अलपत्रेका फुलहरु’ (२०५३), ‘मनोकामना’ (२०६९) गरी ५ काव्य प्रकाशन गर्नुभएको उहाँ सफल कवि हुनुहुन्छ ।
 
यस्तै उहाँले ‘सिमीको बोट’ (२०५६), ‘मेको प्रेम’ (२०७७) जस्ता कथा सङ्ग्रहका अतिरिक्त ‘रातको बाह्रबजे’ (२०५६) ‘सर्वजा’ (२०६०), ‘अवस्थल’ (२०७४), तथा ‘मेरी चेरी र लालीगुराँश’ (२०७७) जस्ता उपन्यासहरु प्रकाशन गरेर आख्यानकारमा दरो उपस्थिति जनाउनु भएको छ । ‘सर्वजा’लाई त प्रा.डा.गोविन्दराज भट्टराई तथा प्रा.डा. कुमारप्रसाद कोइरालाज्यूले त्यतिबेला मदन पुरस्कारको दाबी गर्ने कृतिको रुपमा चर्चा गर्नुभएको थियो । पछिल्लो उपन्यास ‘मेरी चेरी र लालीगुराँश’ भने पाठकका हातमा राम्ररी पुग्न पनि नपाईकन उहाँको निधन हुनपुग्यो ।

अहिले साहित्यकारहरु उपन्यास लेखनमा या संस्मरणात्मक लेखनतिर झुम्मिएका छन् । नाटक लेखन तथा नाटक प्रदर्शन लगभग शून्यप्रायः छ । अर्थात् नेपाली साहित्यका विधाहरुमध्ये नाटक लोपोन्मुख छ । तर साहित्यकार तेराखज्यूले ‘अझै यहाँ उस्तै छ’ (२०५३), ‘टेस्ट–ट्यूब बेबी’ (२०५७) जस्ता सफल नाटक साहित्यिक जगतलाई सुम्पनु भएको छ । उहाँ त यी नाटकलाई उपन्यासमय नाटक भन्नुहुन्छ । यी नाटकका कृतिहरु विचारका दृष्टिमा या कलात्मकताका दृष्टिमा गतिला कृतिसँग हुव्रmाँ गर्न सक्ने दरिला–गतिला कृति मानिन्छन् ।

निबन्धका बारेमा कुरा गर्ने हो भने त मलाई तेराखज्यूको मुख्य विधा नै निबन्ध हो भन्न मनलाग्छ । काल्पनिक उडानमा उहाँ वाजझैं वेग मार्न पनि सक्ने, झम्टा मार्न पनि सक्ने, रकेटझैं अक्कासिन पनि सक्ने स्रष्टा हुनुहुन्थ्यो । कुनै एक विषयमा ध्यानस्थ भई त्यसैको सेरोफेरोमा गुम्सिरहन पनि सक्नुहुन्थ्यो । संस्मरण लेख्न पनि उहाँ खप्पिस हुनुहुन्थ्यो । उहाँका पछिल्ला दुई उपन्यासहरु ‘अवस्थल’ र ‘मेरी चेरी र लालीगुराँश’ उहाँका संस्मरणात्मक उपन्यासहरु हुन् भन्ने मान्छु म । उहाँ त्यसैलाई ‘मय’ विधा भन्नुहुन्छ । ‘ढाडेका नाकमा घिऊ’ (२०५९), ‘म, आगो र पानीहरु’ (२०५६) ‘समय समयका अनुभूति’ (२०७३) उहाँका निबन्धहरु हुन् ।

साहित्यमा भएका ४ विधाका अतिरिक्त पाँचौं ‘मय विधा’ हुन्छ भनेर नयाँ विधाको प्रस्थापना गर्ने धृष्टता पनि उहाँले गर्नुभएको छ । यही उद्देश्यले ‘मय विधाको प्रस्तावना’ (२०६२) भन्ने पुस्तिका नै लिएर पनि उहाँ प्रस्तुत हुनुभयो । ‘अझै यहाँ उस्तै छ’, ‘टेस्ट ट्यूव बेबी’ लाई ‘उपन्यासमय नाटक’, ‘ढाडेका नाकमा घिऊ’ लाई ‘कथामय निबन्ध’ तथा ‘अवस्थल’ उपन्यासलाई ‘मयविधामा आधारित’ भनेर उहाँले भन्नुभएको छ ।

तेराखज्यू विविध विषयमा गहिरो चिन्तन गर्ने दार्शनिक सोच भएको व्यक्ति पनि हुनुहुन्थ्यो । यही चिन्तनका कारण र उहाँ विज्ञानको विद्यार्थी भएका कारण उहाँको एउटा नवीन प्रकारको कृति ‘गोल चिन्तन’ भन्ने कृति पनि प्रकाशित छ । पृथ्वीमा प्रकृतिले सृजना गरेका तथा विज्ञानले निर्माण गर्ने आधारभूत कुराहरु सबै गोलाकार, वृत्ताकार हुन्छन् भन्ने कुरा देखाउन बल गर्नुभएको छ ।

उहाँ प्रकृतिप्रेमी पनि हुनुहुन्थ्यो । फलफूल लटरम्म फलेको दृश्य, अन्नबाली फलेको दृश्य, ढकमक्क फुलेको फूलबारी, छङ्छङाइरहेको झरना मनपराउने, हरियाली पहाड या खोला कन्दरामा घुम्न रुचि राख्ने हुनुहुन्थ्यो । रुख–विरुवा पनि मानिस जस्तै हुन्, उनीहरुको जतन जगेडा गर्नुपर्छ भन्नुहुन्थ्यो । त्यसैले उहाँले ‘वृक्षश्राद्ध’ भन्ने काव्य पनि छपाउनु भएको छ ।

तेराखज्यू नेपालका शिक्षकहरुलाई सङ्गठित हुनुपर्छ, शिक्षकहरुको हक र हितका लागि आफैं शिक्षकहरुले सङ्गठित प्रतिरोध गर्नुपर्छ, भनेर आन्दोलन गर्ने, आन्दोलनमा अग्रपङ्क्तिमा उभिने योद्धा हुनुहुन्थ्यो । झापामा शिक्षक संगठनको प्रथम जिल्ला समितिमा सदस्यको रुपमा रहेर उहाँले जिम्मेवारी निभाउनुभएको थियो । तर निरन्तरको संगठनप्रतिको उहाँको अविचल प्रतिवद्धता देख्ता उहाँ समितिमा रहेको भन्दा महत्वपूर्ण ठानिन्छ । पुरानो सामाजिक परम्पराका विरुद्ध नवीन संस्कृतिको पक्षधर, अन्धविश्वास र रुढीवादी मनोवृत्तिका विरुद्ध वामपन्थी संघर्षशील विचार बोकेर जागृतिमा अघि बढ्न, तत्कालीन पञ्चायती शासन पद्धतिविरुद्ध कम्निस्ट पार्टीमा सङ्गठित भएर लडाईं लड्ने व्यक्ति पनि हुनुहुन्थ्यो । २०४७ भन्दा पूर्व उहाँ नेकपा (माक्र्सवादी)को कार्यकर्ता हुनुहुन्थ्यो । नेकपा (माक्र्सवादी) र नेकपा (माले)को एकीकरण भएपद्धि बनेको झापाको नेकपा (एमाले)को जिल्ला कमिटि (२०४८–४९)मा रहेर काम पनि गर्नुभयो ।

झापाली साहित्यमा प्रगतिशील साहित्यको विरुवा बढाउन मलजल गर्नमा पनि उहाँको महत्वपूर्ण योगदान रह्यो । पत्रपत्रिका प्रकाशनमा सम्पादनमा पनि उहाँ सव्रिmय हुनुहुन्थ्यो । २०१८ सालमै हस्तलिखित रुपमा ‘किरण’ पत्रिका सम्पादन गरेको, २०२० मा ‘आँखो’ सम्पादन गरेको तथा ‘पाउलो’ (२०२३), ‘झटारो’ (२०२५), धुलाबारी माध्यमिक विद्यालयको स्मारिका ‘धारो’ (२०३०) सम्पादन गर्नुभएको कुरा उहाँको व्यक्तिवृत्तबाट देखिन्छ ।
 
साहित्य तथा साहित्यकारको खोजी गर्ने, अध्ययन गर्ने कुरा पनि उहाँको रुचिभित्रकै कुरा हुन् । भाषाशास्त्री महानन्द सापकोटाको जीवनको अध्ययन गर्ने, अन्य नेपाली साहित्यका पाठकहरुलाई जानकारी गराउने गरी उहाँले ‘महानन्द दर्पण’ (२०६५) जस्तो अध्ययनीय कृति प्रकाशन गर्नुभएको छ । उहाँ पूर्वाञ्चलका साहित्यिक तथा सुधारवादी अभियन्ता ज्ञान दिलदासको बारेमा पनि खोजी–अध्ययनमा लागेको मैले बुझेको थिएँ ।
 
समाज वरपर रहेका सामाजिक संघ–संस्थाहरुको स्थापनामा, तिनका विकासमा सहभागी हुने, होस्टेमा हैंसे गर्ने उहाँको स्वभावै थियो । महानन्द स्मृति केन्द्र इरौंटार, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान भक्तपुर, चेतना प्रकाशन संस्था झापा, सासंक प्रतिष्ठान धुलाबारी, साहित्य कला संगम दमक, जीवन स्मृति प्रतिष्ठान दमक, सुसेली साहित्यिक परिवार मेचीनगर, गणेशबहादुर प्रसाईं प्रतिष्ठान झापा, त्रिफला राष्ट्रिय पुस्तकालय झापा लगायत धेरै मठमन्दिर, सामाजिक तथा धार्मिक संस्थामा उहाँ आजीवन सदस्य रहेर तथा कमिटिमा रहेर कार्यरत हुनुहुन्थ्यो ।
तेराखज्यू नेपालका अनेकन प्रतिष्ठित संस्थाहरुबाट पुरस्कृत, अभिनन्दित हुनुभएको तथा उहाँलाई कदर गरिएको थियो । नेपाल सरकारबाट २०७४ सालमा महाकवि देवकोटा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो । सत्यमोहन जोशी शताब्दी स्वर्णपदकद्वारा विभुषित, नई प्रकाशनबाट पुरस्कृत, देवीप्रसाद उप्रेती निजानन्द आश्रमबाट पुरस्कृत, जयन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषबाट दीर्घ साहित्य सेवा पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो । यस्तै प्रगतिशील लेखक संघ झापाबाट, शुक्ला साहित्य संगम दुलेगौंडा तनहुँबाट, प्रश्रित प्रतिष्ठान मेची शाखाबाट, जय नेपाल प्रतिभा पुरस्कार प्रतिष्ठान झापाबाट, त्रिमूर्ति प्रकाशन काठमाडौंबाट, लेखनाथ पुस्तकालय चन्द्रगढीबाट, प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरबाट, सासंक धुलाबारीबाट गरी अनेक संस्थाहरुबाट उहाँ पुरस्कृत तथा सम्मानित हुनुभएको थियो ।

वि.सं.२००१ साल बैसाख १ गते तत्कालीन शान्तिनगर–४, पानीघट्टा हाल बुद्धशान्ति–५मा जन्मनुभई इरौंटार, इलाममा बाल्यकाल बिताउनुभएको तेराखज्यू मेचीनगर–९, धुलाबारीको स्थायी बासिन्दा हुनुहुन्छ । मधुसूदन तथा पवित्रादेवी खतिवडाको सुपुत्र तेराखज्यूले बाल्यावस्थामै आमा गुमाउनुभयो । शान्तिनगर आदर्श मा.वि.मा शिक्षण सेवा सुरु गरी त्यहाँ ६ वर्ष अध्यापन गर्नुभएको उहाँको शिक्षक जीवनको अधिकांश समय भने धुलाबारी मा.वि.मा बित्यो र त्यहींबाट निवृत्त हुनुभयो । श्रीमती पद्मा आचार्य खतिवडा २०६८ जेठमा बित्नुभएयता दस वर्ष एकल जीवन बिताउँदै आउनुभएको उहाँ दुई छोराबुहारीहरु लेखनाथ – सुशीला, रविन्द्र – मोनिका तथा ३ छोरीज्वाइँहरु ममता – फणिन्द्र दाहाल, मुना – नगेन्द्र भट्टराई, मनिषा – लक्ष्मण भण्डारी तथा ७ जना नातिनातिनीहरुलाई छाडेर यही २०७८ असार १६ गते बुधबार अपरान्ह सवा १ बजे उपचारको व्रmममा विराट नर्सिङ होम विराटनगरमा बित्नु भयो ।

२०३८ सालमा म ताप्लेजुङबाट बसाईं सरी झापा आएपछि परिचय र निकट भएका हामी अन्तरङ्ग मित्र थियौं । आफ्ना सजिला–अप्ठेराहरुका बारेमा, दुःख–सुखका बारेमा एकार्कामा खुलेर कुरा गर्ने मित्र थियौं । राजनीति र साहित्यको एउटै धारमा यात्रारत रहेका हामी दुईबीच कहिल्यै मतभेद, गुर्रागुर्री भएन । एक हप्ता फोन सम्पर्क नगरी बित्नु अनौठो थियो । मैले फोन गर्न बिर्संदा उहाँले र उहाँले बिर्संदा म गरिहाल्थें । धेरै चोटी हाम्रा घर आउने साथीमध्ये उहाँ पर्नुहुन्छ । मेरा छोराछोरी बुहारी तथा नातिनातिनीहरुले पनि उहाँलाई चिन्थे । म पनि उहाँका घरमा गइरहन्थें । मलाई लाग्छ, उहाँका घरमा धेरैपल्ट जाने साथीमध्ये म पर्थें होला । यही असार ९ गतेका दिन पनि म उहाँलाई भेट्न उहाँका घरमा पुगेको थिएँ । तर इशारा र एकोहोरो बोल्ने बाहेक उहाँसँग दोहोरो बोली भएन । उहाँ निकै बिमारी हुनुहुँदो रहेछ । म उहाँका छोरा लेखनाथसँग उहाँको बिमारबारे बुझेर फर्किएँ । त्यसैदिन उपचार निम्ति लगिनुभएको उहाँ फर्किन पाउनुभएन ।

उहाँसँगको सान्निध्यले सुसेली साहित्यिक परिवारप्रतिको उहाँको प्रेमले हाम्रो सुसेली साहित्यिक परिवारको स्थापनाकालदेखिको सल्लाहकारमा उहाँ रहनुभयो । सुसेलीलाई सधैं उचित सल्लाह दिने, कार्यव्रmम गरिसकेपछि या स्मारिका प्रकाशनपछि उचित प्रतिव्रिmया दिएर सुझाव दिने एक असल हितचिन्तक सल्लाहकार हुनुहुन्थ्यो । उहाँको निधनले सुसेली साहित्यिक परिवारले पनि एक असल सल्लाहकार गुमाएर अपूरणीय क्षति भएको बोध गरेको छ ।

उहाँको साहित्यप्रतिको निष्ठा नै हो २०७५ सालमा उहाँले रु १० लाखको अक्षयकोष राखी ‘साहित्यकार तेराख प्रतिष्ठान, मेचीनगर–९, धुलाबारी, झापाको स्थापना गर्नुभएको छ । उहाँले आफ्नै उपस्थितिमा दुई वटा कार्यव्रmम गराउनु पनि भयो । यो पछिल्लो पल्ट यस प्रतिष्ठानबाट प्रा.डा. गोविन्दराज भट्टराई पुरस्कृत गरिनुभएको थियो ।

यो साल एक–डेढ महिनायता उहाँ अलिक बढी हरेस खाएको कुरा गर्नुहुन्थ्यो । मधुमेह, रक्त अल्पता तथा ब्रोन्काइटिस जस्ता विमार त उहाँका साथी जस्तै थिए । खानामा परहेजमै हुनुहुन्थ्यो, खानाको अनुशासनमै रहनुहुन्थ्यो, आफैं उमालेको पानी र स्वास्थ्यमा सतर्कताले आफूलाई धान्दै आउनुभएको उहाँलाई हरेसले पनि स्वास्थ्य थप बिग्रन सघाउ पुग्यो । मानिसका सपना त कहिल्यै पूरा हुँदैनन् नै । असरल्ल छोडेरै सबैले जानै पर्छ । यस्तै तेराखज्यू पनि कति कामना छाडेर बित्नुभयो । म यस घडी उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।