प्रलेस सुनसरीले दुई स्रष्टालाई सम्मान गर्यो
२०७८ भदौं ६ गते, इटहरी ।
प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) सुनसरीले शनिवार इटहरीमा दुई स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
नगद रु. ११,१११ सहितको प्रलेस सम्मान – २०७८ बाट अग्रज स्रष्टा कृष्णविनोद लम्साल र नगद रु. ५,५५५ सहित राजकुमार कार्की प्रगतिशील युवा साहित्य पुरस्कार – २०७८ बाट कवि विमला पोखरेललाई प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लेखक तथा कवि भानु भण्डारी र प्रलेस सुनसरीका अध्यक्ष रामप्रसाद खरेलले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।
सम्मान, पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रममा उपेन्द्र पागलको कविता कृति “पागलका प्रतिनिधि कविता” विमोचन तथा कवि भरत गुरगाईँ बर्बरिकको निर्देशनमा तयार पारिएको रामप्रसाद खरेलको कविता “मेरा बा” को भिडियोको प्रिमियर सो समेत गरिएको थियो ।
सि एन गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे, ब्लाष्ट दैनिकका प्रबन्ध निर्देशक किशोरकुमार कार्की, प्रलेस प्रदेश नम्बर एकका उपाध्यक्ष डा. खेमराज खनाल, कवि बर्बरिक, महाकाव्यकार डम्बरु वल्लभ भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।