“श्रीलङ्का, म र उनी”
नुन,भुटुन र भोटोको लागी
दिनभर घोटिएका
ठेलाम्बे हत्केलाहरूले
यो चाउरिएको अनुहार मसारेर
जब यसो खुई काढेर सुस्ताउँछु
तब मेरा सपनाहरूमा आउँछन्
राजपाछेहरुका कर्फ्यु तोडेका मानिसहरू ।
आधा निदाएका आँखाहरू लिएर
एका बिहानै खोल्छु दैलो
तब मेरो दलानमा ठिङ्ग उभिएको हुन्छ
यो,आजको “श्रीलङ्का”
बिस्तारै मेरो दैलो हुँदै
मेरा रित्ता खल्तीहरू छाम्दै
घुनले भरिएका भकारी
चुहिने हर्पे र डालाहरू ठक्ठकाउदै
रित्ता वर्तन्हरु बजार्दै
जब मेरो भान्छासम्म पुग्ने गर्छ
यो, बर्तमानको “श्रीलङ्का”
तब, म उसै गरी निस्किन्छु
चप्पलका लोतीहरू पट्काउँदै
बेरोजगारका हुलले भरिएको
सडकहरूमा
आला ठेलाले भरिएका हत्केलाहरूमा
सुर्ती माडेर,जब पर्खी रहन्छु
बेलुकीको छाक
तब पिच्च थुकिदिन्छु
आफ्नै जिन्दगी माथि
हो, यसरी सदियौँ देखि
म भित्र बाचिँ रहेको छ
दिन प्रतिदिन हुर्की रहेको छ
यो, आजको बर्तमानको “श्रीलङ्का”
ग्यासको लाइनबाट भर्खर
विजय भएर निस्किरहेको बेलामा
राहदानीमा गुलामीको चोप लागेर
भिसा झरेको बेलामा
ऋण काढेर ऋण तिरेको बेलामा
भाका राखेर साहु टारेको बेलामा
किन किन मलाई तिम्रो
खुब याद आउँछ “श्रीलङ्का”
यस्तो लाग्छ आजकाल
तिमि मेरो “वन साइड लभर” हौँ
ए श्रीलङ्का तिमि त भर्खर श्रीलङ्का भएका हौँ
म त सदियौँ देखि श्रीलङ्का नै छु
त्यसैले आऊ , तिमि र मबाट
उत्पादन गरौँ कयौँ श्रीलङ्काहरू
तिमि र म जस्ता श्रीलङ्काहरूको
बहुमत पुगेको दिन मात्र
बन्द हुनेछन्
यी श्रीलङ्का उत्पादन गर्ने कारखानाहरू
यो भू – तलातलबाट
हमेसा – हमेसाकालागि