बुधबार २५, असार २०८२ Wed,09 Jul 2025

सर्वाधिकार सुरक्षित

धेरै धन कमाउन बाह्र महिना, बाह्र पुस्तक



17:34 मंगलवार २९ , माघ २०८१
  • रामप्रसाद खरेल

पैसा कमाउन नियमित पुस्तक पढ्नुपर्छ भन्यो भने मानिसहरूले ध्यान दिन्छन् । तर ज्ञान, शिक्षा, सीप र संस्कार आर्जनको लागि नियमित पुस्तक पढ्नुपर्छ भन्यो भने उति चासो दिँदैनन् ।
अधिकतर मानिसहरू ज्ञानको पछिभन्दा पैसाको पछि कुदिरहेका छन् । यसैले अबको समय खोज, अध्ययन, अनुसन्धान, आविस्कार सबै विषयलाई आय आर्जन अर्थात् पैसासँग जोड्नु पर्छ । आविस्कार वा सिर्जनाले दिगो धन कमाउँछन् ।
जेके रोलिङ्ग, जेफ बेजोस र वारेन वफेट यी तीन नामसँग पुस्तकको साइनो छ । तीनै जनाको अर्बपति यात्रा किताबको माध्यमबाट भएको हो । जेके किताब लेखेर अर्बपति भइन् । जेफ किताब बेचेर अर्बपति भए । वारेन किताब पढेर अर्बपति भए । यी तीन जनालाई व्यापारिक भाषामा क्रमशः उत्पादक, बिक्रेता र उपभोक्ता भन्न सकिन्छ । वारेन आफैँमा प्रसिद्ध पुस्तकहरूका लेखक पनि हुन् । 
किताबको शक्ति यी तीन जनाको कथाबाट थाहा हुन्छ । किताब लेखेर के हुन्छ ? पढेर के हुन्छ ? भनेर निराशाको गफ दिनेहरूलाई दर्बिलो जबाफ हुन् यी प्रतिनिधि पात्रहरू । किताब लेखेर रोयल्टीमार्फत धनी हुन सकिन्छ । किताब बेचेर मुनाफा (कमिसन)मार्फत धनी हुन सकिन्छ । तर पढेर चाहिँ कसरी धनी हुन सकिन्छ ? 
पढेर धनी हुन सकिन्छ ? सहज उत्तर हो– सकिन्छ । बरु नपढेर चाहिँ धनी हुनबाट वञ्चित हुनुपर्छ । जेके र जेफका कुरालाई एकछिन छाडौँ । वारेनका विषयमा दुईचार लाइनमा कुरा गरौँ ।
वारेन विश्वका धनीहरूको सूचीमा छन् । बेन्जामिन ग्राहम ‘द इन्टिलेजेन्ट इन्भेस्टर’ पुस्तकका लेखक हुन्, जो वारेनका लगानीका गुरु हुन् । ग्राहमको पुस्तकले नै वारेनलाई सेयर बजारमा सफल बनाउन सहयोग गरेको हो । वारेनले सिफारिस गर्ने पुस्तकको पहिलो नम्बरमा ग्राहमको पुस्तक नै पर्छ ।
पुस्तक नपढ्नु भनेको धनको भकारीबाट धेरै टाढा रहनु हो । यदि वारेनले पनि पुस्तकहरूको गहन अध्ययन नगरेका भए सेयर बजारमा यति धेरै सफल नहुन सक्थे । संसारका धनी, प्रसिद्ध लेखक, कवि, दार्शनिक, राजनीतिज्ञ, व्यवसायी आदि जति पनि क्षेत्रका सफल व्यक्तिहरू छन्, ती सबैले जीवनभर पुस्तक पढ्ने गरेका छन् ।
औपचारिक अध्ययन भनेको सानो भाग हो । जब हामी विश्वविद्यालयको पढाइ सकेर बाहिर आउँछौँ तब बल्ल हाम्रो खास अध्ययनको सुरुवात हुन्छ । पुस्तक अध्ययनको लागि हामीले दैनिक केही समय व्यवस्थापन गर्नुपर्छ ।
पुस्तकको नियमित अध्ययनले हामीलाई बोल्न सिकाउँछ । लेख्न सिकाउँछ । सिर्जना गर्न सिकाउँछ । आविस्कारका लागि तयार गर्छ । परिस्थितिको सामना गर्न तयार बनाउँछ । प्रश्न गर्न, जबाफ दिन सिकाउँछ । आफ्नो काममा उत्कृष्टता प्राप्त गर्न सक्षम पार्छ । 
धेरैपरको उदाहरणतर्फ जानै पर्दैन । नेपालकै एकमात्र डलरवाला अर्बपति उधोगी विनोद चौधरीलाई हेरौँ । पुस्तक पढ्नु उनको सोख होइन, बानी हो । पठनमात्र होइन, लेखनमा पनि उनको हस्तक्षेप छ । विनोदको आत्मकथा प्रकाशन हुनुपूर्व नै उनको ‘उद्यमीका आँखामा अर्थतन्त्र’ नामक पुस्तक प्रकाशन भइसकेको थियो । धनीहरूले पैसा कमाउनकै लागि पढ्न र लेख्नमा आफ्नो समय लगानी गर्छन् ।
विद्वानहरूका अनुसार अध्ययनका केही फाइदाहरू यस्ता छन् ।
१) किताबले हाम्रो कल्पना क्षमतालाई सुधार गर्छ ।
२) किताबले रचनात्मक रूपमा सोच्न सक्षम पार्छ । 
३) किताबले सिर्जनात्मक क्षमता वृद्धि गर्छ ।
४) किताबले निरन्तर उत्प्रेरणा प्रदान गर्छ ।
५) किताबले तनाव हटाउन मद्दत गर्छ ।
६) किताबले मानव मस्तिष्कलाई सुधार गर्छ ।
यसैले, किताब पढ्नुलाई अनिवार्य दिनचर्याका रूपमा विकास गर्नुपर्छ । सुरुवाततिरै भनेजस्तो किताब लेखेर पनि पैसा आउँछ । किताब बेचेर पनि पैसा आउँछ । किताब पढेर पनि पैसा आउँछ ।
लेखनमात्र होइन, अध्ययन पनि प्रत्यक्ष–अप्रत्यक्ष आर्थिक आम्दानीसँग जोडिएको छ । जो आफ्नो लक्ष्यसँग जोडेर किताबहरू पढिरहेका छन्, उनीहरू धनी बन्ने कुरामा शङ्का छैन । तर लक्ष्यबिना पढिरहेका छन् भने उपलब्धि सामान्य हुनेछ ।
वाल्ट सिड्नीका अनुसार किताबहरूमा त्यति खजाना लुकेको हुन्छ, कुनै लुटेराले जति लगे पनि सिद्धिँदैन । कवि पर्सिविस शेली भन्छन्– हामी जति अध्ययन गर्दै जान्छौँ, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ । यसैमा रान्डा बाराकातको सार्वजनिक जिज्ञासा छ– हामीले नपढ्न कसरी मिल्छ ?

सार्थक र सफल जीवनका लागि  एउटा सङ्कल्प गर्न सकिन्छ– वर्षभरी महिनाको न्यूतम एउटा पुस्तक अध्ययन गर्ने । १२ महिना १२ पुस्तक अध्ययन कुनै गाह्रो गृहकार्य होइन । सकिन्छ, हप्ताको एउटा पुस्तक पढौँ । हप्तामा एउटा सकिँदैन भने कम से कम महिनामा एउटा पुस्तक पढौँ । 
धनी बन्न पढ्ने र धनी बनेर पनि पढिरहने हो । विचार गर्नुहोस्– पैसामा पनि अक्षर र अङ्क हुन्छ, किताबमा पनि । हाम्रो बौद्धिक तथा आर्थिक हैसियत पनि अक्षर र अङ्कमै मापन हुन्छ । हामी अङ्क र अक्षरबाट टाढा हुन सक्दैनौँ ।

Featured News

Advertisement