शनिबार २६, बैशाख २०८३ Sat,09 May 2026

सर्वाधिकार सुरक्षित

सती सावित्री होइन, आजका महिलाकी आदर्श विद्रोही द्रौपदी



15:08 सोमबार २३ , पुष २०७५

विद्यार्थीकाल बोधविक्रम अधिकारीले लेखेको नेपाली दन्त्यकथा पढेको थिएँ। कक्षा चारदेखि पढ्न थालेको पुस्तक अहिले लगभग हराएको रहेछ।

भाइहरूलाई खोज्न लगाएँ। हिजोमात्र गुरू बरालका सहायताले भेटेँ। यो पुस्तकको अन्तिममा बाँदर्नी मैंयाको कथा छ। आज यसैमा बोल्छु।

कुनै देशका राजाका सात छोरा हुन्छन्। राजाले सातै राजकुमारलाई तिमीहरू वाण हान, अनि त्यो वाण जहाँजहाँ लाग्छ, त्यहीँत्यहीँबाट विवाह गर भन्छन्।

राजकुमारहरूले वाण हान्छन्, कसैको वाण अर्को देशको राजाकोमा जान्छ, कसैको वाण प्रधानमन्त्रीको घरमा जान्छ। कसैको ठूला जमिनदारको घरमा जान्छ। उनीहरू आफ्नो वाण लागेको ठाउँमा गएर विवाह गरेर ल्याउँछन्।

तर कान्छा राजकुमारको वाण एउटा रूखको टोड्कामा गएर लाग्छ।

त्यो टोड्कामा एउटा बाँदर्नी भेटिन्छे। वचनले बाँधिएका राजकुमारले त्यही बाँदर्नी विवाह गरेर ल्याउँछन्।

विवाहपछि सबैले भोज दिन्छन्। सबै सम्भ्रान्तकी छोरी पाककलामा निपूर्ण हुन्छन्।

तर बाँदर्नीसँग न सम्पत्ति हुन्छ, न त पाककला। कान्छा राजकुमार चिन्तित देखिन्छन्।

बाँदर्नी भन्छे- तिमी सुर्ता नगर। म भोज गर्छु। मभित्र यस्तो शक्ति छ।

तिमीले मलाई जुन टोड्काबाट ल्याएका थियौ, त्यहीँ लगेर छोडिदेऊ। भोजबाट म एउटा सन्देश र संकेत दिन्छु।तिमी भरे साँझ आऊ।

साँझ आउँदा नभन्दै भव्य महल छ। चौरासी व्यञ्जन बनेको छ। टेबल कुर्सी सजिएको छ। हिजोसम्म नभएका १२ फ्रिज छ। बत्ती बलिरहेको छ। एकदम आधुनिक जीवन छ।

अनि त्यसपछि उसले भनिछ- म राजकुमारी नै हो। श्राप परेर म बाँदर्नी भएको हो। तर यस्ता काम पर्दा म आफ्नो स्वभाविक रूपमा आउन सक्छु। तिमी आरामले खानापिन गर।

राजा आए, उनका छोराहरू आए। उनीहरूले तयार गरेको व्यञ्जनभन्दा बढी खाना देख्छन्।

धनाढ्यको घरभन्दा कुनै कुराको कमी रहेनछ बाँदर्नीको घरमा।

दाजुभाइ लज्जित भएछन्। राजा पनि छक्क परेछन्। बाँदर्नीसँग चमत्कार रैछ भनेर।

जाँदाजाँदै दाजुभाइहरूलाई यति धेरै रिस उठेछ। उनीहरूले 'यो नक्कली बाँदर्नी रैछ। बाँदरको खोस्टा ओढेर हामीलाई ठगेकी रैछ' भने।

दाइहरूले भाइलाई अह्राए- यसको खोल खोज, निकाल र त्यसलाई डढाइदेऊ।

धुँइपत्ताल लगाएर खोज्दा नभन्दै बाँदर्नी मैंयाले खोल ल्याएर कुनामा सन्दुकमा राखेको रैछ।

बाँदर्नीको त्यो खोल ती राजकुमारले कुनामा लगेर आगो लगाइदिए।

यता खोल डढ्न थाल्यो, उता बाँदर्नी मैंयालाई भतभत पोल्न थाल्यो। मरेँ मरेँ भन्दै बाँदर्नी दौडेर जंगलतिर लागिछ।

अब राजकुमार के गरोस्। पछिपछि कुदे। १० किलोमिटर कुदे, २० किलोमिटर कुदे। हेर्दाहेर्दै बाँदर्नी मैंया अलप भई।

यही कथा मैले कक्षा चारमा पढेको।

अचेल म सोच्न थालेको छु, यो बाँदर्नी मैंया कथामा मात्र छ कि हरेक घरमा पनि छ?

जसको त्यो खोस्टोलाई, जंगलबाट ल्याएको संस्कारलाई, आफूले सिकेको विद्यालाई, माइतीबाट ल्याएको ज्ञानलाई, खाने तरिकालाई, टेबल म्यानर्सलाई, ख्वाक्क गर्दा खोकेको तरिकालाई, कुनचाहिँ घरमा जस्ताकोतस्तै स्वीकार गरिन्छ?

बाँदर्नी मैंयाको कथा मेरा विचारमा एउटा दु:खी नारीलाई ऊ विवाह गरेर पुगेको घरमा जस्ताकोतस्तै स्वीकार गर्न नसकिएको कथा हो।

बाँदर्नी मैंयाले मलाई धेरै प्रभावित किन गरेको भने बाँदर्नी मैंया भन्दाभन्दै हाम्रो समाजमा जुन पञ्चकन्या भन्ने चलन चल्या छ नि, अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोधरी, यी पाँच महिलालाई के भनिन्छ भने यिनले समाजका सारा नियम कानुन तोडिदिए।

बाँदर्नी मैंयाले त बाँदरको खोलमात्र लगाएकी थिइन्। यी सबैका त पाँच/छ वटा पति थिए। यिनले कुराकानी गरेको सुन्नुहोला, यस्ता बझौटे थिए। यस्ता झगडिया थिए। सिनेमामा देखाउने पुरानो जमानाका शशीकलालाई पनि माथ गर्थे।

तर हाम्रो सनातन परम्पराले के भन्छ भने यी पाँच वटीलाई बिहानबिहान सम्झ। यिनलाई सम्झियो भने सारा पाप नाश हुन्छ।

बाँदर्नी मैंया सम्झने क्रममा यी पाँच जनालाई सम्झिरहेको थिएँ। के हो पञ्चकन्या भनेको?

आजको समाजमा दौप्रदीको के महत्व छ। दौप्रदीका पाँच पति थिए। सबैलाई थाहा छ। त्यतिले उनलाई चित्त बुझेको थिएन। उनी छैठौं पतिका रूपमा कर्णसँग विवाह गर्न चाहन्थिन्।

महाभारतमा उनी युधिष्ठिरसँग बातैपिच्छे बाझेको हेर्नुभयो भने आजका श्रीमतीलाई केको बाझ्ने आँट होला!

दोस्रो, अहिल्या। उनी सबैभन्दा महत्वपूर्ण छिन्। उनी को हुन् र किन यति महत्वपूर्ण छन्?

तारा किन महत्वपूर्ण भइन्? मन्दोधरी, को हुन्?

Featured News

Advertisement