कुन किताब पढ्ने ?
- रामप्रसाद खरेल
किताब लेखेर, बेचेर र पढेर धनी हुन सकिन्छ भन्ने कुराको श्रृखलामा एउटा प्रश्न उभिन्छ, कुन किताब पढ्ने ?
साँच्चै कुन किताब पढ्ने ?
कुन किताब पढ्ने ?, कस्तो किताब पढ्ने ? भन्ने कुरामा अन्यौल हुनु सामन्य हो । यही मेसोमा म ‘रीड एण्ड गेट रीच’ का लेखक बर्क हजेजको प्रसङ्ग जोड्छु । उनि एउटा डुङ्गा बनाउने कम्पनीमा काम गर्थे, तलब एकदम थोरै थियो । तलबले घर चलाउन निकै मुस्किल थियो । तलब कम भएका कारण उनि दुखिद थिए । यसैबिचमा उनिकी सालीले ओग मन्डिनोदवारा लिखित पुस्तक ‘द ग्रेटेस्ट सेल्समेन इन द वर्ल्ड’ पढ्न दिन्छिन् ।
बर्कले भनेका छन् — “यो पुस्तकले मेरो जीवन परिवर्तन गरिदियो । यही पुस्तकले मलाई गरिरहेको काम छाड्न बाध्य पार्यो । गर्दै गरेको काम छाडेर म सेल्युलर फोन बेच्ने काममा लागेँ ।”
उनले एकबर्ष भित्रमा नै आफ्नै व्यवसाय शुरु गरे । ३० बर्षको हुँदा पाँच ओटा कम्पनीको स्थापना र २ पुस्तक लेखिसकेका थिए । उनको विश्वचर्चित पहिलो पुस्तक थियो ‘हु स्टोल द अमेरिकन ड्रिम’ । त्यसपछि दर्जन पुस्तक लेखेँ । व्यवसायिक तथा उत्प्रेरणाका तालिम दिदैं संसार घुमे ।
एउटा पुस्तकले बर्क हजेजको जीवनमा आमूल परिवर्तन गराइदियो ।
कुनै किताबले हाम्रो जीवनमा पनि यस्तै परिवर्तन ल्याइदिन सक्छ । यसैले पुस्तकले धनी वनाउन सक्छ भनिएको हो । बर्क भन्छन् — “सही समयमा सही पुस्तकले तपाईँको जीवन बदल्न सक्छ ।”
बर्कले भनेको कुरा ठीक हो । उनिदवारा लिखित पुस्तक ‘रीड एण्ड गेट रीच’ र ‘द प्यारावल अफ दि पाइपलाइन’ ले मलाई पनि पुस्तक पढ्न लेख्न हौसाएका थिए ।
जुन पुस्तकले बर्कको जीवनलाई परिवर्तन गरिदियो त्यो किताब उनको आफ्नै छनौट भने थिएन । तर उनको मनोविज्ञान र आवश्यकतालाई बुझेर उनकी सालीले त्यो किताब दिएकी थिइन ।
किताबको छनौट कसले गर्योभन्दा पनि आवश्यकता र मनोविज्ञानलाई बुझेर गरिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । सही समयमा सही किताबको छनौट गर्नुपर्छ ।
किताब छनौटका धेरै आधारहरु हुन्छन् । तीमध्ये केही आधारहरु आवश्यकता, इच्छा, सान्दर्भिक र समय हुन् । यीनै चार ओटा कुरालाई आधार मानेर किताबको छनौट गर्न सकिन्छ ।
छनौटको पहिलो आधार — आवश्यकता ।
तपाईँको पेशा, व्यवसाय अनुसारका आवश्यकताहरु हुन्छन् । शिक्षक र व्यवसायीलाई उस्तै पुस्तक आवश्यक हुँदैन् । व्यवसायको विस्तार कसरी गर्ने भनेर सिकाउने किताब भन्दा कसरी राम्रो अध्यापन गराउने भन्ने किताव शिक्षकको लागि आवश्यक हुन्छ । लक्ष्यलाई सहयोग पुग्ने खालका किताबको नियमित अध्यनले हामीलाई आफ्नो काममा उत्कृष्ट पार्दै लैजान्छ । लक्ष्यमा मेल खानेपनि धेरै पुस्तकहरु हुन्छन् तीनै मध्येबाट विभिन्न विधिलाई अपनाएर उत्कृष्ट किताबहरु खोजेर पढ्नुपर्छ । काम एकातीर किताब अर्कातीरको भयो भने परिणाम उल्टो आउँछ । आफ्नो पेशा, व्यवसायमा क्षमता अभिवृद्धिका लागि अनिवार्य पुस्तकहरु पढ्नुपर्छ । पुस्तक नपढे पछि पर्ने कुरामा कसैले रोक्न सक्तैन् ।
छनौटको दोस्रो आधार — इच्छा ।
इच्छाका आधारमा पढिने किताबहरु प्राय साहित्यिक र मनोरञ्जनका हुन्छन् । इच्छाका किताबहरुले हामीलाई व्यसायिक सफलतामा प्रत्यक्ष सहयोग नगरेपनि अप्रत्यक्ष रुपमा सहयोग गर्छन् । आफ्नो पेशा, व्यवसायभन्दा वाहिरको क्षेत्रका बारेमा ज्ञान लिनका लागि रुचीका बिताबहरु पढ्न सकिन्छ । रुचीका किताबहरु छनौट गर्न इमर्सनको यो भनाईलाई लिन सकिन्छ । इमर्सन भन्छन् — “यदि हामीले कुनै दुर्लभ प्रतिभावान मानिस पायौ भने त्यसलाई सोधौं कि उसले कस्ता किताबहरु पढ्छ ।” साहित्य, संगित, कला, इतिहास, समाजशास्त्र, विज्ञान आदि कुन बिषयमा आफ्नो रुची छ सोही अनुसारका किताबहरु पढ्न सकिन्छ ।
छनौटको तेस्रो आधार – सान्दर्भिक ।
मानौं तपाईँ व्यवसायी हो । व्यवसाय विस्तारमा पम्प्लेट, पर्चा बनाएर कसरी मार्केटिङ गर्न सकिन्छ भन्ने किताब बजारमा छ । के यो किताब डिजिटल यूगको मार्केटिङका लागि उपयुक्त छ ? यो किताब समय सान्दर्भिक नहुनसक्छ । असान्दर्भिक किताबको अध्ययन समयको बर्बादी मात्रै हो ।
पुस्तक छनौटको चौथो आधार हो — समय ।
सही समयमा सही काम सही तरिकाले गर्नुपर्छ भन्ने भनाई स्थापित छ । यसरी नै किताबहरु छनौट पनि सही समयमा सही किताबको गर्नुपर्छ । जस्तै : विवाह भइसकेको छ अब विवाहको लागि योग्य जोडी कसरी खोज्ने भनेर सिकाउने पुस्तक पढ्यो भने सही समयमा भएन । विवाह पछि दाम्पत्य जीवन कसरी सफल पार्ने ?, छोराछोरी कसरी हुर्काउने भन्ने सिकाउने किताब पढ्नु उपयुक्त हुन्छ । करियर छनौट सम्बन्धीका किताबहरु २०, २५ बर्षको उमेरमा वढी उपयुक्त हुन्छ । ६०,७० बर्षको उमेरमा बुढ्यौली उमेरलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर सिकाउने किताबहरु पढ्नु सवर्दा राम्रो हुन्छ ।
पुस्तकहरु लाभदायक हुन्छन् । थियोडर पार्करले भनेका थिए — “सबैभन्दा लाभदायक पुस्तकहरु ती हुन्छन् जो कि तपाईँलाई सबैभन्दा वढी सोच्नलाई मजबुर पार्न सक्छन् ।”
उत्प्रेरणा दिने खालका पुस्तकहरु पनि आफूसँग मिल्दाजुल्दा नै पढ्नु राम्रो हुन्छ । व्यक्तित्व विकास सम्बन्धि पुस्तकहरुले हाम्रो आन्तिरक र बाह्य व्यक्तित्वमा निखार ल्याउन सहयोग पुर्याउछन् । उत्प्रेरणा हामीलाई हरेक समय चाहिन्छ । पुस्तक पनि एक उत्प्रेरक हो ।
पुस्तक छनौट कठिन काम हो । र कठिन कामले नै मानिसलाई सफलताको उचाईमा पूर्याउछ ।
सारमा भन्दा कस्तो किताब, कुन किताब पढ्ने भन्ने कुरा तपाईँको जीवनको लक्ष्यमा भर पर्छ । साथीको लागि उपयोगी किताब तपाईँको लागि त्यती नै उपयोगी हुन्छ भन्ने हुँदैन् । पुस्तकको उपयोगीतालाई प्रष्ट पार्दै पढ्ने कुरामा जोड दिन बर्क हजेजले भनेका छन् — “औसत सेल्समेनले बर्ष भरमा एउटा पनि किताब पढेका छैनन् । यसैकारणले उनिहरु औसत सेल्समेन हुन ।”
सक्सेस पत्रिकाका संस्थापक डा. अमेरिसन एस. मार्डेनको तर्क छ कि किताबहरुले उन्नति गर्न सहायकको काम गर्छन् । उनि भन्छन् — “यदि तपाईँ आफैंलाई सुर्धानका लागि उत्सुक हुनुहुन्छ भने यस्ता किताबहरु पढ्नुहोस जसले तपाईँको लक्ष्य भेट्न सहयोग गर्न सकोस । तपाईँको कल्पनाशीलतालाई परिष्कृत गर्न सकुन्, तपाईँका उदेश्यहरुलाई स्पष्ट गर्न सकनु र तपाईँको आदर्शलाई उँचाई दिन सकुन ।”
नेपालीमा एउटा उखान छ, कि परेर जानिन्छ कि पढेर जानिन्छ । पढेर जान्नका लागि ती किताब रोज्नुहोस जुन किताब तपाईँको लक्ष्यसम्म पुग्ने साथी वन्ने खालका हुन् ।
“किताबहरुको असली लक्ष्य हुन्छ मस्तिकलाई सोच्नकालागि बाध्य गर्नु ।” — क्रिस्टोफर मोली ।






