नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित (जीवनी सहित)
रामप्रसाद खरेल
फागुन २५ गते, इटहरी ।
नयाँ राष्ट्रपतिको लागि आज भएको निर्वाचनबाट रामचन्द्र पौडेल निर्वाचित हुनभएको छ । नेकपा एमालेका उम्मेद्वार सुवासचन्द्र नेम्बाङलाई हराउदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
मतगणनाको अन्तिम मत परिणाम अनुसार सुवासले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ मत पाउदा रामचन्द्रले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ मत प्राप्त गरी विजय हुनुभएको हो । उहाँको सपथग्रहणसँगै नेपालले तेस्रो राष्ट्रपति पाएको छ ।
राजनैतिक यात्राको ६२ बर्षमा पौडेल देशका सबैभन्दा उच्च पदमा पुग्नुभएको छ । प्रधानमन्त्रीको दौडमा १७ पटक सम्म हार्नुपरेको नमिठो इतिहास पनि उहाँको जीवनमा रहेको छ ।
पौडेलले मन्त्री, उपप्रधानमन्त्री र सभामुखको राजनैतिक जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । नेपाली काङ्ग्रेसको सभापतिका लागि भने अनेक प्रयास गर्दा पनि उहाँ सफल हुन सक्नुभएन ।
नेपाल पुकार पत्रिकाको सम्पादक साथै ॅप्रजातन्त्रिक समाजवाद एक अध्ययन (२०४६)’ , नेपाली काङ्ग्रेस के भन्छ ?(२०४८), नयाँ सन्दर्भमा समाजवाद (२०५२), सत्याग्रह किन र कसरी, विश्वासको यात्रा, अभिसप्त इतिहास र कृषि क्रान्ति र समाजवाद लगायतका किताब समेत लेखिसक्नुभएका पौडेलको संक्षेपमा जीवनी :
वि.सं. २००१ साल असोजमा तनहुँ तत्कालिन रिस्ती गाविस बाहुनपोखरामा जन्मनुभएको हो । उहाँका चार छोरी र एक छोरा रहेका छन् । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तरसम्मको शिक्षा लिनुभएको छ । संस्कृतमा त्रिविबाटै शास्त्री उर्तिण गर्नुभएको छ ।
पटक-पटक गरी १५ बर्ष जेल जीवन समेत विताउनुभएको छ ।
राजनैतिक यात्रा :
वीपीलाई आदर्श मान्ने पौडेल २०१७ सालमा राजा महेन्द्रको राजनैतिक ॅकु’ ले जन्माएको राजनीतिक पात्र हो । दुई तिहाई मत प्राप्त तत्कालिन प्रधानमन्त्री वीपी कोइरालालाई १७ साल पुस १ गते अपदस्थ गरी आफ्नो हातमा राज्यसत्ताको वागडोर लिएपछि त्यसैको विरोधमा पौडेल राजनीतिको मैदानमा उत्रनुभएको थियो । २०१८ मा काङ्ग्रेसले गरेको सशस्त्र युद्धमा पौडेलले सहभागिता जनाउनुभयो ।
संक्षेपमा पौडेलको पार्टी राजनीति,
१) २०१७ पुस १ गतेबाट सडक राजनीतिबाट प्रवेश ।
२) २०१८ मा सशस्त्र युद्धमा सहभागी ।
३) २०२३ सालमा सरस्वती क्याम्पस काठमाण्डौंको विद्यार्थी युनियनको सभापतिमा निर्वाचित ।
४) २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचित ।
५) २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य ।
६) २०४० सालमा काङ्ग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक ।
७) २०४४ सालमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य ।
८) २०६२ सालमा नेपाली काङ्ग्रेसको महामन्त्री ।
९) २०६४ सालमा नेपाली काङ्ग्रेसको उपसभापति ।
१०) २०७२ सालमा नेपाली काङ्ग्रेसको कार्यबहाक सभापति ।
संसदिय यात्रा :
१) २०४८ को निर्वाचनमा तनहुँ १ बाट निर्वाचित ।
२) २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ २ बाट निर्वाचित ।
३) २०५६ को निर्वाचनमा तनहुँ २ बाट निर्वाचित ।
४) २०६४ र ७० को संविधानसभाको चुनावमा तनहुँ २ बाटै निर्वाचित ।
५) २०७४ को निर्वाचनमा तनहुँ १ बाट पराजीत ।
५) २०७९ मा पून संसदमा निर्वाचित ।
राजकीय यात्रा :
१) २०४८ मा स्थानीय विकास मन्त्री ।
२) २०४९ मा स्थानीय विकास तथा कृषि मन्त्री ।
३) २०५१ मा सभामुख ।
४) २०५७ मा उपप्रधानमन्त्री, गृह तथा सञ्चार मन्त्री ।
५) २०६३ मा शान्ति तथा पुनर्निमाण मन्त्री ।
६) २०७९ मा राष्ट्रपति ।
पौडेलको समाजको मूल सुत्र “गाउँमुखी अर्थनीति, जनमुखी राजनीति र श्रमको सम्मान गर्ने संस्कृति समाजवादका लागि आवश्यक छ ।” भन्ने रहेको छ ।