प्रदेश नम्बर पाँचले किन्यो बजार मूल्यभन्दा आधा करोड बढी तिरेर ११ गाडी
प्रदेश ५ प्रदेशसभा सचिवालयले खरिद गरेका सवारी साधनमा व्यापक आर्थिक अनियमिता भएको पाइएको छ।
प्रदेश ५ प्रदेशसभा सचिवालयले भारतीय गाडी निर्माता टाटा कम्पनीका १३ र अन्य तीन वटा सवारी साधन केही दिनअगाडि खरिद गरेको छ।
नेकपाका कार्यकर्तासमेत रहेका उनले उक्त गाडी खरिदमा ठूलै आर्थिक चलखेल भएको दाबी गरे।
‘निजी प्रयोग गर्ने भए कसैले पनि खरिद गर्दैन थिए होला, सरकारी धनले खरिद गरेका कारण जस्तो भए पनि खरिद गरे,’ उनले भने।
प्रदेश सचिवालयले ती सवारी साधन बुटवलको सफल अटो इन्टरनेशनलबाट खरिद गरेको हो।
प्रदेश ५ प्रदेशसभा सचिवालयले गत भदौ २६ गते विभिन्न प्रकृतिका १४ वटा सवारी साधनका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको थियो । सचिवालयले प्रकाशन गरेको सूचनामा सवारी साधन ४ ह्विल ड्राइभ भएको हुनुपर्ने उल्लेख गरिए पनि गाडीको स्तर भने उल्लेख गरिएको छैन।
सचिवालयले १४ वटा गाडी खरिदमा ठूलै आर्थिक चलखेल भएको भन्दै नेकपाभित्र आलोचनासमेत सुरू भएको छ।
प्रदेशसभा सचिवालयले उक्त गाडीहरू मध्ये ११ वटा गाडी प्रति गाडी ७१ लाख ९४ हजार ९ सय ९९ का दरले किनेको छ। ११ गाडी किन्न ७ करोड ९१ लाख ४४ हजार ९ सय ९९ रूपैयाँ खर्च भएको छ।
त्यसमध्ये ५५ हजार बराबरको एकवर्षको बीमा सुविधासमेत कम्पनीले दिने गरेको छ।
सचिवालयले खरिद गरेको एउटै गाडीको मूल्य सर्वसाधारणले खरिद गर्नेभन्दा ३ लाख ३९ हजार ९ सय ९९ बढी देखाइएको छ। त्योसँगै सचिवालयले खरिद गरेका गाडीको बीमावापत् लाग्ने प्रतिगाडी ५५ हजार रुपैयाँ छुट्टै उपलब्ध गराउने जनाएको छ। सर्वसाधारणले खरिद गर्ने गाडीको उक्त बीमा सुविधासमेत कम्पनीले उपलब्ध गराउने गरेको छ।
व्यक्तिले एउटामात्र सवारी साधन किन्दा सामान्यतया प्रति सवारी साधन ५ लाख रुपैयाँ छुट दिने गरेको छ भने सरकारी बजेटबाट ११ वटा सवारी साधन खरिद गर्दा सरकारी खातामा छुट लिने तर्फ किन ध्यान दिइएन? भन्ने प्रश्न उठेको छ ।
बुटवलमा टाटाको आधिकारीक बिक्रेता सफल अटोले कम्पनीले तोकेको मूल्यमा ५ लाख छुट गरी ६८ लाख ५५ हजार मूल्यमा गाडी उपलब्ध गराउने गरेको कोटेसन सेतोपाटीले प्राप्त गरेको छ। यसले पनि प्रदेश ५ प्रदेशसभा सचिवालयले गाडी खरिदमा ठूलै अनियमितता गरेको प्रष्ट हुन्छ।








